
युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ ।
बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसअनुसार इन्स्योरेन्सले १०० कित्ता सेयर बराबर १० कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । इन्स्योरेन्सको २०८१ असार ३० गते सम्पन्न ३१ औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

