
मुस्ताङका तीन स्थानीय तहद्वारा ६ ब्यारेल इन्धन सहयोग
काठमाडौं । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन्। यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो।
यसअघि बेनी–जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा सडक मर्मतको काम प्रभावित भएको थियो। नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे सडकमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको थियो।
बेनी–जोमसोम सडकको सीधा यातायात सम्पर्कविच्छेद भएसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तु तथा इन्धनको समस्या परेको छ। सडक अवरुद्धका कारण प्रभावित बनेको मुस्ताङको जनजीवन सहज बनाउन तथा सडक मर्मतलाई गति प्रदान गर्न मुस्ताङको घरपझोङ २२० लिटर (एक ब्यारेल), वारागुङ मुक्तिक्षेत्रले ६६० लिटर (तीन ब्यारेल) र लोघेकर दामोदरकुण्डले २२० लिटर (एक ब्यारेल इन्धन (डिजेल) मुस्ताङबाट ढुवानी गरी सहयोग पुर्याएका छन्।
वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङ, घरपझोङका अध्यक्ष मोहनसिंह लालचन र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टलगायतले मुस्ताङबाट इन्धन ढुवानी गरी आयोजनालाई हस्तान्तरण गरेकाे आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। योसँगै बेनी–जोमसोम सडक मर्मतका लागि सडक उपकरण चलाउन इन्धनको समस्या टरेको उनको भनाइ छ।
अवरुद्ध बेनी–जोमसोम सडकको अधिकांश स्थानमा सडक मर्मत भई सञ्चालनमा आइसकेको भए पनि म्याग्दीको पोखरेबगरमा कालीगण्डकी नदीको पुल एप्रोज सडक र कुनौटो सडकको सडक मर्मत तीव्र पारिएको छ। आयोजना प्रमुख शर्माले बेनी–जोमसोम अवरुद्ध सडक छिट्टै सञ्चालनमा ल्याउने बताए।
भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक ध्वस्त हुँदा मुस्ताङ पूर्ण रूपमा प्रभावित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गरे। सडक अवरुद्धले दसैँ–तिहारअघिको छेकोमा हुने पर्यटन व्यवसाय र स्याउको बजारीकरणमा समस्या परेको उनले बताए।
कोरलानाकाको निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङमा सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको लोघेरक दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए।
बेनी–जोमसोम–कोरला सडक गण्डकी प्रदेश र मुस्ताङ जिल्लाकै आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यो सडकलाई यथाशीघ्र मर्मत गरी सडक सञ्चालन गराउन सबै पक्षको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको बताए।


