

सशस्त्र प्रहरी बल रौतहटले ५ करोड ७४ लाखको सामान बरामद गर्यो




रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ७४ लाख दुई हजार ६ सय ९९ रूपैयाँ मूल्य पर्ने सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।
‘गत आवमा मात्रै दुई करोड ३१ लाख ४७ हजार रूपैयाँ मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ’ उनले भने, ‘सोही अवधिमा २ करोड ४८ लाख ४५ हजार ६५३ रूपैयाँ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।’ सशस्त्र प्रहरीका अनुसार गत आवमा एक/एक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको छ ।
त्यसैगरी, एक/एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका ४८ लाख १७ हजार १ सय १० रूपैयाँ रकम बरामद गरेको पनि जानकारी दिए।
सोही अवधिमा स्रोत नखुलेका ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ । सशस्त्र प्रहरीले गत आवमा ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार गत आवमा ४०६ कार्टुन अर्थात् पाँच लाख ५१ हजार ८२५ रूपैयाँ मूल्यको मदिरा बरामद गरिएको छ । सोही अवधिमा ८५० किलोग्राम माछा, एक हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैंसी र पाडापाडी पनि बरामद गरिएको छ ।
त्यस्तै, रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले चार लाख तीन हजार ५६ रूपैयाँ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । दक्षिणी सीमानाकामा पाँचवटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरू ८ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।