

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरु व्यवसाय बढाउन सफल




काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा संकलन गरेको बीमाशुल्कको तथ्यांक सार्वजनिक गरेको छ । सोही तथ्यांकलाई आधार मान्दा उनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको आर्जन गर्न सफल भएका हुन् । त्यस्तो तथ्यांक यसभन्दा अघिल्लो आर्थिक वर्षमा ४१ अर्ब १७ लाख १३ हजार रुपैयाँमा सिमित रहेको देखिन्छ ।
आज प्रकाशित तथ्यांक अनुसार शिखर इन्स्योरेन्सले ५ अर्ब ७९ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ भने यस्तो तथ्यांकगत रुपमा शिखर इन्स्योरेन्स नै सबैभन्दा अग्रपंक्तीमा रहेको छ । उसले गत वर्ष समेत ५ अर्ब ४७ करोड रुपैयाँ व्यवसाय हात पारेको थियो ।
शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी (सलिको) इन्स्यारेन्सले समेत ५ अर्ब ५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । केही दिन अघि मात्रै कम्पनीले आफ्नो टार्गेट पूरा भएको भन्दै केक समेत काटेको थियो ।
सलिको पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड रुपैयाँको व्यवसाय गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा हिमालयन एभरेष्टले ४ अर्ब १० करोड, आइजिआई प्रुडेन्सियलले ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड, एनएलजि इन्स्योरेन्सले ३ अर्ब ६ करोड, युनाइटेड अजोडले २ अर्ब ७० करोड, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड र सानिमा जिआईसिले २ अर्ब ७० करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
सोही अवधिमा नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्टिय बीमा कम्पनीले १ अर्ब ३७ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब ६ करोडको बीमा व्यवसाय गर्न सफल भएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुले पनि आफ्नो व्यवसाय विगतको तुलनामा बढाएकै कारण उनीहरुको व्यवसायलाई समेत सन्तोषजनक नै मान्न सकिन्छ ।