
सर्वोच्चद्वारा कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गर्दै न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेपछि उनले आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमै बहाल गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि पनि उक्त रिटमा दुई पटक पेसी तोकिएको थियो। गत ७ मंसिरमा न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी परेको थियो ।
तर, कार्कीको स्थानमा आईजीपी नियुक्त भएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस नभएको जनाउँदै सुनुवाइ स्थगित गरिएको थियो। त्यसपछि सर्वोच्चले मुद्दाको अर्को पेसी आज मंसिर ९ गतेका लागि तोकेको थियो ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।


