
चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै
धनकुटा । बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक चियाखेती गर्दै आएका किसानको लगानी जोखिममा परेको छ । उत्पादन भएको चिया बिक्री नहुँदा किसानले बगानको हेरचाह गर्न छाडेका छन् । वर्षौँदेखि गोडमेल र छाँटकाँट हुन नसकेका चियाका बोट अहिले झाडीमा परिणत हुन थालेका छन् ।
पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका किसानले कुनै समय चियाखेतीबाट राम्रो आम्दानी हुने अपेक्षासहित अन्य बाली छाडेर चियाका बिरुवा रोपेका थिए । तर, उत्पादनले बजार र उचित मूल्य नपाएपछि उनीहरूको आशा निराशामा बदलिएको छ ।
विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा खेती सुरु गरेका थिए । तर, उत्पादन बिक्री नहुँदा लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।
‘चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ’, उनले भने, ‘मजदुर लगाएर काम गराउँदा खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?’
पाख्रीबासकै अर्का किसान धनबहादुर बस्नेतले करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गरेका छन् । उत्पादन बिक्री नहुँदा तीन–चार वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको उनले बताए । चियाखेतीबाट आम्दानी नहुँदा पुरानो बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन भएको उनको भनाइ छ ।
त्यस्तै, विमल राईले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गरेका छन् । तर, उद्योगले अपेक्षाअनुसारको मूल्य नदिँदा र उत्पादनको बजार सुनिश्चित नहुँदा उनी पनि समस्यामा छन् । करिब तीन वर्षदेखि बगानको नियमित हेरचाह गर्न नसकेको उनले बताए ।
प्रशोधन उद्योग बन्द भएपछि बजारको समस्या
स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गरेको थियो । उद्योगमा किसानले उत्पादन गरेको चिया खरिद गरी ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीजस्ता विभिन्न प्रकारका चिया उत्पादन गरिन्थ्यो ।
उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई उत्पादन बिक्री गर्ने भरपर्दो ठाउँ उपलब्ध भएको थियो । यसले चियाखेतीप्रति किसानको आकर्षणसमेत बढाएको थियो ।
तर, उद्योगमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपरेको थियो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि सञ्चालन खर्च धान्न नसकेर उद्योग बन्द भयो । त्यसपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ गुमाए । उद्योग बन्द भएसँगै चियाखेतीमा निर्भर किसानको आम्दानी र रोजगारीसमेत प्रभावित बनेको छ ।
किसानले चिया उद्योग पुनः सञ्चालनका लागि स्थानीय सरकारसँग पहल गर्न माग गर्दै आएका छन् । तर, पाख्रीबास नगरपालिकाले बजेट अभावका कारण तत्काल उद्योग सञ्चालनका लागि सहयोग गर्न नसकेको जनाएको छ ।
नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार उद्योग सञ्चालनका लागि नगरपालिकामा माग आएको छ । तर, किसानले माग गरेअनुसारको ठूलो बजेट उपलब्ध गराउन नगरपालिकासँग स्रोत नभएको उनले बताए ।
वर्षौँको मेहनत र लगानीबाट तयार भएका चियाका बोट बजार अभावकै कारण उपयोगविहीन बन्न थालेपछि किसान चियाखेतीबाटै पलायन हुने अवस्थामा पुगेका छन् । उद्योग सञ्चालन, उत्पादनको उचित मूल्य र बजार सुनिश्चित नभएसम्म चियाखेतीलाई निरन्तरता दिन कठिन हुने उनीहरूको भनाइ छ ।


