
एएचएफ नेपालद्वारा संगीत र मनोरञ्जन मार्फत जनचेतना जगाउने उद्देश्यले विश्व एड्स दिवसको दिन सांगीतिक कन्सर्ट २०२६ को घोषणा
काठमाडौं । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले आज नक्साल स्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा आयोजित एक पत्रकार सम्मेलन मार्फत विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने घोषणा गरेको छ । उक्त पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरू, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्वहरू र एएचएफका प्रतिनिधिहरूको उपस्थिति थियो । एएचएफका प्रतिनिधिहरूले आगामी सांगीतिक कन्सर्टको उद्देश्य र महत्वबारे जानकारी गराए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको कार्य मार्स एडभर्टाइजिङ एन्ड रिसर्च प्रा.लि.ले गरेको थियो ।
यहि डिसेम्बर १, २०२६ का आयोजित विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ ले संगीत र मनोरञ्जनलाई अर्थपूर्ण सामाजिक सन्देशसँग जोड्दै, एचआईभी÷एड्स सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने मञ्चका रुपमा यो कार्यक्रम रहने विश्वास राखेको छ । सांगीतिक प्रस्तुतिहरूका साथै, यस कार्यक्रमले समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जनचेतना फैलाउने र एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माण गर्न जोड दिनेछ ।
विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ मा सहभागी हुनका लागि खल्ती एप मार्फत निःशुल्क नाम दर्ता गर्न सकिनेछ । यसले इच्छुक सहभागीहरूलाई सहज रूपमा दर्ता प्रक्रिया पुरा गरी संगीत, जनचेतना र ऐक्यबद्धताको यो अर्थपूर्ण उत्सवमा सामेल हुन मद्दत पुर्याउनेछ ।
यो पहलले एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभाव विरुद्ध एकजुट हुनुपर्ने आवश्यकतामा पनि जोड दिन्छ । संगीत, जन–सहभागिता र चेतनामूलक गतिविधिहरू मार्फत, एएचएफ नेपालले खुला संवादलाई प्रोत्साहन गर्ने, गलत धारणाहरूलाई चिर्ने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना जगाउने लक्ष्य राखेको छ । यो सांगीतिक कन्सर्टले कलाकार, दर्शक र आम समुदायलाई एकै ठाउँमा ल्याउनेछ । मनोरञ्जन, जनचेतना र पैरवीको सम्मिश्रण सहितको यस कार्यक्रम मार्फत विश्व एड्स दिवस मनाइनेछ ।


