
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण
काठमाडौं । चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय विमानको सफल परीक्षण गरेको सिह्नाले जनाएको छ । चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) का अनुसार शनिबार चीनको पूर्वी प्रान्त शान्दोङको बिन्झोउ क्षेत्रमा उक्त विमानले पहिलो मानवसहितको उडान गरेको हो ।
उक्त परीक्षण उडानका क्रममा विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र यसको कार्यसम्पादनसम्बन्धी सबै सूचक अपेक्षाअनुसार रहेको कोम्याकले जनाएको छ ।
सीई– २५ ए कोम्याकले विकास गरेको पहिलो विद्युतीय व्यावसायिक विमान हो । मुख्यतः विभिन्न शहरबीच व्यावसायिक उडान सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको यस विमानमा १९ जना यात्रु बस्न मिल्छ । यसको अधिकतम उडान भर्ने तौल १० टन रहेको छ । विमानको प्रतिघण्टा अधिकतम क्रुजिङ गति ३०० किलोमिटर, क्रुजिङ उचाइ २ हजार ४०० मिटर र एकपटकको उडान क्षमता ४०० किलोमिटर रहेको छ ।
यसअघि सीई– २५ ए ले २ फेब्रुअरी २०२६ मा पहिलोपटक चालक दलबिनाको स्वचालित परीक्षण उडान सम्पन्न गरेको थियो । कोम्याक, चिनियाँ ब्याट्री निर्माता कम्पनी क्याटल, सांघाई जियाओ टोङ विश्वविद्यालयलगायत संस्थाको संयुक्त सहकार्यमा उक्त विमान विकास गरिएको हो । हालसम्म यस विमानले चालक दलबिनाको स्वचालित उडानसम्बन्धी १९ वटा परीक्षण तथा प्रमाणीकरण उडान सम्पन्न गरिसकेको छ ।


