
तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब बढीको लगानी प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा उद्योग क्षेत्रमा १ खर्ब ४ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । उद्योग विभागमा साउनदेखि असोज मसान्तसम्म दर्ता भएका १९५ उद्योगले उक्त रकम बराबरको लगानी प्रस्ताव गरेका हुन् ।
विभागको त्रैमासिक प्रतिवेदनअनुसार यस अवधिमा १४ ठूला, २२ मझौला र १५९ साना उद्योग दर्ता भएका छन् । यी उद्योग सञ्चालनमा आए १० हजार २२० जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । पहिलो तीन महिनामा सबैभन्दा धेरै उद्योग सूचना प्रविधि क्षेत्रमा दर्ता भएका छन् । यस क्षेत्रमा ८६ उद्योग दर्ता हुँदा १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ लगानी र ९५० जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।
त्यस्तै, पर्यटन क्षेत्रमा ४० र सेवा क्षेत्रमा २३ उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रका उद्योगले ५ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ लगानी तथा १ हजार ६१८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । सेवा क्षेत्रका उद्योगमार्फत ३ अर्ब २५ करोड ४४ लाख रुपैयाँ लगानी र ४ हजार १३२ जनालाई रोजगारी दिने योजना छ । संख्याका आधारमा सूचना प्रविधि क्षेत्र अगाडि देखिए पनि लगानी प्रस्तावका हिसाबले भने ऊर्जा क्षेत्र पहिलो स्थानमा छ । ऊर्जा क्षेत्रमा दर्ता भएका तीन उद्योगले ७१ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । यी उद्योगबाट १७३ जनालाई रोजगारी उपलब्ध गराउने लक्ष्य छ । त्यस्तै, पूर्वाधार क्षेत्रमा दर्ता भएका दुई उद्योगले २० अर्ब सात करोड १० लाख रुपैयाँ लगानी र दुई हजार ३८० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।
यस अवधिमा उत्पादनमूलक क्षेत्रका ३७, कृषि तथा वन क्षेत्रका तीन र खनिज क्षेत्रको एउटा उद्योग दर्ता भएका छन् । उत्पादनमूलक क्षेत्रका उद्योगले एक अर्ब आठ करोड रुपैयाँ लगानी गरी २०७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । कृषि तथा वन क्षेत्रमा दर्ता भएका उद्योगले १ अर्ब १२ करोड रुपैयाँ लगानी र ७०६ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । त्यस्तै, खनिज क्षेत्रको एउटा उद्योगले १६ करोड ४१ लाख रुपैयाँ लगानी गर्ने र ५४ जनालाई रोजगारी दिने प्रस्ताव गरेको विभागको प्रतिवेदनमा उल्लेख छ ।


