
नेपालको जनकपुरधाम र भारतको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन हुने
काठमाडौं । भारतको रेल मन्त्रालयले नेपालको धार्मिक तथा ऐतिहासिक सहर जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। भारत र नेपालबीचको सीमापार जोडाइ, धार्मिक पर्यटन र द्विपक्षीय मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो।
माता सीताको जन्मस्थलको रूपमा सम्मानित जनकपुरधाम र भगवान् श्री रामको जन्मस्थल अयोध्या रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र हुन्। यो रेल सेवा सञ्चालन भएपछि दुवै देशका यात्रुहरूलाई यी धार्मिक स्थलहरूसँग जोडिन सहज हुनेछ र साझा सांस्कृतिक सम्पदालाई थप प्रवर्द्धन गर्नेछ।
सीमापार मुख्य गन्तव्यहरूको जोडिाइ र रुट
लगभग ६०४ किलोमिटर दूरी समेट्ने यो साप्ताहिक रेल सेवाले जनकपुरधामलाई भारतको अयोध्या क्यान्टसँग जोड्नेछ। यो रेल बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण सहर तथा नगरहरू भएर गुड्नेछ। यसका टर्मिनल स्टेसनहरूबाहेक जयनगर, मधुबनी, शिसो, सितामढ़ी, रक्सौल, नरकटियागंज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या क्यान्टमा यसका व्यावसायिक स्टपेजहरू रहनेछन्। यो रेल हप्तामा एक पटक सञ्चालन हुनेछ, जस अन्तर्गत जनकपुरधामबाट शनिबार र अयोध्या क्यान्टबाट सोमबार यात्रा प्रारम्भ हुनेछ।
पर्यटन, व्यापार तथा क्षेत्रगत विकासमा टेवा
यो नयाँ सेवाले तीर्थयात्री, पर्यटक तथा अन्य यात्रुहरूका लागि सीमापार यात्रा थप सुविधाजनक बनाउने अपेक्षा गरिएको छ। यसले जनकपुर र अयोध्याबीचको धार्मिक यात्रालाई सहज बनाउनुका साथै रामायणसँग सम्बन्धित पर्यटकीय सर्किटहरूलाई प्रोत्साहन गर्नेछ र शिक्षा, व्यवसाय तथा पारिवारिक कामका लागि यात्रा गर्ने मानिसहरूको आवतजावतलाई बढावा दिनेछ। यस रेल सेवाको सञ्चालनले मार्गका स्थानीय अर्थतन्त्रलाई समेत फाइदा पुग्नेछ, जसले पर्यटन व्यवसायी, आतिथ्यता क्षेत्र , स्थानीय व्यापारी र परम्परागत शिल्पकारहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ। बिहार र नेपालका सीमावर्ती क्षेत्रका बासिन्दाहरूका लागि यसले थप यातायात विकल्प प्रदान गर्नुका साथै आर्थिक र सामाजिक सम्बन्धहरूलाई अझ प्रगाढ बनाउनेछ।


