
हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।
कर्णालीका लागि हुसेन तलतले ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मदतमा ३५ रन जोडे । पवन सर्रफले २१ बलमा २ छक्का मदतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मदतमा आक्रमक १८ रन बनाए ।
यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दिपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे । बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २-२ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १-१ विकेट लिए ।


