
टाढा तथा रातिको समयमा यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन व्यवसायीलाई आग्रह गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भई बाढीपहिरोको जोखिम हुन सक्ने पूर्वसूचना जारी गरेकाले त्यसअनुसार तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।
महासंघले आफ्नो क्षेत्रबाट सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधन, चालक, परिचालक र बुकिङ कर्मचारीलाई सेवा सञ्चालन गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्न र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्न अपिल गरेको छ।
महासंघले अत्यावश्यक कामबाहेक उक्त अवधिमा टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
त्यस्तै, जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने महासंघले जनाएको छ।
महासंघले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ।
त्यसैगरी, नेपाल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन पनि महासंघले आग्रह गरेको छ।

