
हुथी आक्रमणमा यमनमा ५०० सरकारी सैनिकको मृत्यु

काठमाडौं । यमनका सरकारी सुरक्षा बलले पश्चिमी तटमा महिनाभर चलेको लडाइँमा ५०० भन्दा बढी सैनिक मारिएको बताएको छ । करिब एक हजार ५०० सैनिक घाइते भएका छन् ।
यमनका सरकारी सुरक्षा बलहरूले रणनीतिक बाब अल–मान्देब जलमार्गतर्फ हुथी विद्रोहीहरूले तीव्र रूपमा सैन्य प्रगति गरिरहेका बेला यो जानकारी बाहिर आएको सिन्ह्वाले जनाएको छ ।
अल–जुम्हुरिया टिभी द्वारा प्रसारित वक्तव्यमा सरकारको ‘नेसनल रेसिस्टन्स फोर्सेस’ले अगस्ट ९ देखि सेप्टेम्बर १० बीच यी क्षति भएको जनाएको छ । सोही अवधिमा एक हजार भन्दा बढी हुथी सदस्य मारिएको र हजारौँ घाइते भएको समाचारमा उल्लेख छ । यद्यपि, यी तथ्यांबहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
वक्तव्यका अनुसार हुथीहरूले मिसाइल, ड्रोन र विस्फोटक डुंगामार्फत आक्रमण गरेपछि लडाइँ सुरु भएको थियो । त्यसपछि यो लालसागरको हुदैदाह प्रान्तको दक्षिणी भागमा रहेको हायस क्षेत्रबाट छिमेकी दक्षिण–पूर्वी प्रान्त ताइजका विभिन्न मोर्चासम्म फैलिएको थियो ।
सेप्टेम्बर ३ मा हुथीहरूले सुरु गरेको सैन्य आक्रमणका बीच यो क्षति भएको बताइएको छ । उक्त आक्रमणले यमनको लालसागर तटका अग्रपंक्तिका मोर्चाहरूको परिदृश्य द्रुत रूपमा परिवर्तन गरिदिएको थियो । यस क्रममा हुथी समूहले हुदैदाह र छिमेकी ताइज प्रान्तका सरकार–नियन्त्रित कैयौँ क्षेत्र कब्जा गरेको दाबी गरिएको छ ।
हुथीहरूले बिहीबार रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेका थिए । त्यसपछि शुक्रबार उनीहरू दक्षिणतर्फ बाब अल–मान्देब क्षेत्रमा अघि बढ्दै जलमार्गको मध्यभागमा रहेको मायुन टापु माथि नियन्त्रण कायम गर्न सफल भएका थिए । यससँगै लाल सागरलाई अदनको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री व्यापारिक मार्गमाथि उनीहरूको पकड थप बलियो भएको छ ।

