
सेयर स्वामित्व परिवर्तन गर्दै रिलायबल नेपाल लाइफ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हाल संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत अर्थात् ७०ः३० रहेको छ । अब उक्त अनुपात परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात् ५१ः४९ कायम गर्ने तयारी गरिएको हो ।
कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ ।
यसका लागि नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ५ बमोजिम प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । प्रस्ताव कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिई आगामी वार्षिक साधारणसभा प्रस्ताव लैजान लागेको हो ।


