
सेयर बजारको गिरावटमा ब्रेक, परिसूचक सामान्य बढ्दा कारोबार साढे २ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक बढेको छ । लगातार रुपमा घटिरहेको सेयर बजारमा आज ब्रेक लागेको हो ।
आज सेयर बजार परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ८४ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.७२ अंकले बढेर ४४६.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ पटक खरिद बिक्री हुँदा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

