
भोटेकोशी–त्रिशूली बाढी: बीमा कम्पनीमा थपियो २५ अर्ब ८७ करोडको दायित्व

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि निर्जीवन बीमा कम्पनीहरूमा ठूलो मात्रामा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भदौ १० गते आएको बाढीका कारण हालसम्म बीमा कम्पनीहरुमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँको दाबी परेको हो ।
प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीमा ५८३ वटा दाबी परेका छन् । जेन्जी आन्दोलन तथा अघिल्लो वर्षकै दाबी भुक्तानीले थलिएका निर्जीवन बीमा कम्पनीलाई यो बाढीले थप समस्या पारेको छ । बीमा कम्पनीहरुमध्ये सबै भन्दा धेरै दाबी रकम दि ओरियण्टल बीमा कम्पनीमा परेको छ । प्राधिकरणका अनुसार उक्त कम्पनीमा मात्रै १३ अर्ब ४ करोड रुपैयाँ बराबरको दाबी परेको छ । यो कम्पनीमा कुल ८ वटा मात्रै बीमा दाबी परेका छन् ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा १०२ वटा दाबीको २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ वटा दाबीको १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ वटा दाबीको १ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
त्यसैगरी, हिमालयन एभरेष्टमा ४५ वटा बादीबाट ६४ करोड ८७ लाख, नेको इन्स्योरेन्समा ६६ दाबीको ५१ करोड ७० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा दाबीबाट २४ करोड २३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ वटा दाबीबाट २३ करोड ८६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ वटा दाबीबाट १८ कारोड ७३ लाख रुपैयाँ, एनएलजीमा २१ वटा दाबीको ११ करोड ३१ लाख, प्रभु इन्स्योरेन्समा १४ वटा दाबीको ३१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबीको ७६ हजार र नेशनल इन्स्योरेन्स कम्पनीमा २ वटा दाबीको ५३ हजार रुपैयाँ दाबी परेको छ ।
इन्जिनियरिङ तथा ठेकेदार बीमामा सबैभन्दा ठूलो दाबी
बाढीबाट परेको बीमा दाबीको ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार बीमाअन्तर्गत रहेको छ । यस क्षेत्रमा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र मोटर बीमातर्फ १ अर्ब ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, परिवहन बीमाअन्तर्गत ८९ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै अन्यमा ५२ करोड ९२ लाख र स्वास्थ्य बीमा तर्फ ४ लाख १६ हजार रुपैयाँको दाबी परेको छ ।



