
‘नागरिकको जीवनमा खेलवाड गरे बालेन होस्, जोसुकै होस्,भोलि संघर्ष गर्नुपर्यो भने भागाभाग होला’ -किरण

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै जेनजी नेता रवि किरण हमालले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
आफ्नो मामाको छोरा इन्जिनियर महेन्द्र विक्रम शाहीसहित सयौँ नागरिक त्रिशूली–३ ‘ए’ मा फसेको एक साता बितिसक्दा पनि उद्धार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै हमालले विदेशी सहयोग, उच्च प्रविधि र अनुभवी प्राविधिक टोली तत्काल परिचालन गर्न माग गरेका छन्।
उनले नागरिकको जीवन बचाउन आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने, उद्धारमा कुनै स्रोत–साधनको कमी हुन नदिनुपर्ने र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका छन्।
हमालले प्रधानमन्त्रीको राहत कोषमा रहेको रकम तथा जनताले तिरेको कर नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।“पीडितलाई समयमा राहत देऊ, विदेशीको सहयोग लिएर भए पनि नागरिक बचाऊ भन्नु अपराध हो? प्रधानमन्त्रीको कोषमा अरबौँ पैसा जम्मा भएको छ। जनताले कर तिरेको खर्बौं पैसा छ। त्यो हेलिकप्टर उडाउन र स्टन्ट गर्न हो?” उनले प्रश्न गरेका छन्।
उद्धारमा ढिलाइप्रति आक्रोश व्यक्त गर्दै हमालले सरकारलाई कडा चेतावनीसमेत दिएका छन्।
“नागरिकको जीवनमा खेलवाड गरे,बालेन होस्, जोसुकै होस् भोलि संघर्ष गर्नुपर्यो भने भागाभाग होला। हेक्का रहोस्,” हमालले भनेका छन्।

