
हात्ती आक्रमणमा परेका परिवारलाई सरकारले ५ लाख दिने

काठमाडौं । हात्तीको आक्रमणमा परेका परिवारलाई सरकारले सहयोग गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आज सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको जोड दिएकी हुन् ।
यता, वार्षिक दुई लाख हाराहारीमा पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले बताउँदै उनले केन्द्रको निरीक्षणपछि धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने सुनाइन ।
मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिइन् ।
उनले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइन् ।
हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् । यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ ।
त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे मन्त्री चौधरीलाई जानकारी दिएका थिए ।
यसैगरी, मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरिन् ।
मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते हुनुभएका मङ्गले बोटेसँग पनि भेट गरिन् ।
उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताइन् ।

