
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भबन सिंहदरबारमा बस्न लागेको हो ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सो विधेयकलाई पारित गरियोस् भनी मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । त्यसैगरि आजको बैठकमा सहकारी क्षेत्रमा देखिएका समस्या र नियमनका बनाइएको “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” लाई पनि बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ। माननीय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयकमाथि दफावार छलफल र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् ।
आजको बैटकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” माथि दफावार छलफल र पारितका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेकको छ ।

