
नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन उद्घाटन

काठमाडौं । नेपाल बैंक लिमिटेडको बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–४ स्थित अत्याधुनिक नवनिर्मित भवनको उद्घाटन गरिएको छ। आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भवनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्दै आफ्नै अत्याधुनिक भवनबाट गुणस्तरीय बैंकिङ सेवा प्रवाह सुरु गर्नु सकारात्मक उपलब्धि भएको बताए।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अत्याधुनिक प्रविधिमा आधारित सेवा विस्तार गरिरहेको बताए। उनले ग्राहकलाई अझ प्रभावकारी, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले तथा बैंकका अन्य पदाधिकारी, स्थानीय जनप्रतिनिधि र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले नवनिर्मित भवनबाट बैंकले अपाङ्गतामैत्री सेवासहित आधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै ग्राहकमुखी सेवा विस्तारमा सफलताको शुभकामना दिएका थिए।

