
ओरियन्टल इन्स्योरेन्सको नाफा १६ करोडमाथि, अन्य सूचक कस्ता ?



काठमाडौं । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीले निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित भएको छ । अधिकांश कम्पनीको मुनाफा नै ऋणात्मक रहेको अवस्था छ । धेरै कम्पनीको नाफासहितका वित्तीय विवरण धरापमा पर्दा दि ओरियन्टल इन्स्योरेन्स भने बलियो रुपमा देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा १६ करोडमाथि उक्लिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा १९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर १६ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको कुल ब्यवसाय १९.९१ प्रतिशतले बढेर १ अर्ब ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्यवसाय ८७ करोड ६९ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.०७ प्रतिशतले बढेर ८० करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २९ प्रतिशतले घटेर ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषको आकार ९ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको महाविपत्ति कोषमा ७ करोड ५७ लाख र जगेडा कोषमा ११ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

