

गभर्नर खोई ? (सम्पादकीय)




काठमाडौं । बैंक–वित्तीय क्षेत्रको मुख्य नियमनकर्ता नेपाल राष्ट्र बैंक गभर्नर बिहीन भएको महिनौ बितिसकेको छ । राजनैतीक खिचातानीको प्रत्यक्ष असर बैंक वित्तीय क्षेत्रको मुख्यालयमा समेत पर्दा त्यसले राजनीतिप्रति समेत गहिरो वितृष्णा जगाएको अवस्था छ । समयमै कार्यसम्पादन गर्ने नीति जुनसुकै सरकारले पनि लिनुपर्ने अपरिहार्य र अनिवार्य शर्त जस्तै बनेको बेलामा गभर्नर नियुक्ती जस्तो जटिल विषय नै आलटाल या अलमलको शिकार बन्न पुगेको हो ।
बैंकहरुले के सिक्ने ?
कुनै पनि बैंक वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नयाँ योजना ल्याउँनेदेखि कारबाहीको डण्डा चलाउने अख्तियारपूर्ण संस्था नेपाल राष्ट्र बैंकको गभर्नर नै यसरी प्रसव पीडामा छट्पटाएका छन् कि मानौं कसलाई जन्माउने भन्ने निर्यौल गर्न सरकारले लामो समय खर्चनु परेको अवस्था छ ।
पार्टीको कोठा भित्रका बैठकबाट एक सटमा सु–सम्पन्न गरिनु पर्ने कतिपय निर्णयहरुमा आर्थिक क्षेत्रका गरिमामय पदहरुका नियुक्तीका लागि नै लामो समय लाग्नुले भोलिका दिनमा विदेशी दाताहरुबाट प्राप्त हुने सहयोग र ठूला विदेशी साझेदारीलाई बुझ्न कुनै पनि सरकारी संयन्त्र अझ बढी अलमल तथा ढिलासुस्तीमा समय व्यतीत गर्न तल्लिन हुने सहजै लख काट्न सकिन्छ ।
नेपाल राष्ट्र बैंककै उच्च ओहोदामा रहेका वरिष्ठ कर्मचारीहरुले समेत पदका लागि लालायित हुँदै, रोइकराई गर्नु पर्ने स्थिती सिर्जना हुँदा त्यसले खासै गतिलो सन्देश भने पक्कै दिएको छैन । कारण, यहीबाट हामी प्रष्ट हुन सक्छौं कि कुनै पनि बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद, उनको नियुक्तीको अवधि, तोकिएका व्यस्त र कडा कार्यतालिका बनाउने नेपाल राष्ट्र बैंकमा आज गभर्नर छैनन् । गभर्नर खोई ?
हुन त राजा मरे पनि राज्य अड्कदैन भन्ने पुरानो नेपाली भनाईलाई एकछिन सापट लिएर हेर्दा पनि गभर्नर बिनाको राष्ट्र बैंकमा एउटै प्रश्न उठाउन जायज देखिएको छ, गभर्नर खोई ?
एकपछि अर्को नियामक निकाय ढिलासुस्तीको शिकार
यो प्रस्ष्टै र छर्लङ्गै छ कि एक पछि अर्को नियामक निकाय ढिलासुस्तीको शिकार बन्न पुगेका छन् । ढिलाई हुने प्रक्रिया र त्यसका आफ्ना (जस्टीफाइड रिजन) जायज कारणहरुका ठूला चाङ समेत सम्बन्धित निकायहरुले छिनको छिनमै टक्राउन सक्लान् । तर, आम जनताले के त्यही चाङ्ग खोजका हुन् ? ढिलासुस्तीको अपेक्षा गरेका हुन् ? राजनैतीक खिचातानीको शिकार त्यसमा पनि नेपालका सबै नियामकहरुलाई एक ठाउँमा राख्दा अघि बढी सक्रिय देखिएको र धेरै जिम्मेवारी पाएको आर्थिक संस्थाका पिता नै प्रमुख बिहीन हुनुका छोटा र साना कारणहरु पक्कै छैनन् होला ।
नेपाल राष्ट्र बैंक भित्र एउटा कुर्सि पर्खिरहे छ, राम्रो नेत्तृत्वको लागि ।
देशको अर्थतन्त्रले गतिलो डाक्टर मागि रहेको र धेरथोर तंग्रिने प्रयासमा रहेको अर्थतन्त्र सुधारका लागि ।
ठूला र दीर्घकालिन योजनाहरुले सहजिकरण खोजी रहेका छन् ।
एकपछी अर्को निर्देशनको कडाईका साथ सवाल र जवाफ फर्काउने नियामक निकाय नेपाल राष्ट्र बैंक आफै मुख्य नेत्तृत्व बिहीन हुँदा हामीले कसैप्रति पनि लक्षित नभई, नांगो आँखाले हेर्दा दुई शब्दको प्रश्न सोध्न चाहेका छौं, गभर्नर खोई ?
:सम्पादकीय