
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि उच्च प्रतिफल दिने क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा सरोकारवालाबाट राय–सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले नेपालमा उत्पादनशील क्षेत्रको विस्तार अपेक्षित रूपमा हुन नसकेको बताए।
उनले व्यवसाय विस्तार गर्न आवश्यक पूर्वाधार निर्माण र उत्पादनमूलक लगानीलाई प्राथमिकता दिनुपर्नेमा त्यसअनुरूप प्रगति हुन नसकेको उल्लेख गर्दै यही कारण अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको धारणा राखे। गभर्नर पौडेलले विकसित मुलुकहरूले अनुसन्धान, नवप्रवर्तन र नयाँ–नयाँ आविष्कारमार्फत उत्पादन तथा उत्पादकत्व बढाउँदै राजस्वसमेत वृद्धि गर्न सफल भएको उल्लेख गर्दै नेपालले पनि दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न शिक्षा, स्वास्थ्य, सीप विकास, प्रविधि र उत्पादनशील क्षेत्रको समग्र सुधारमा जोड दिनुपर्ने बताए।
उनले सीमेन्ट, स्टिललगायत उद्योगहरूको उत्पादन लागत निरन्तर बढ्दै गएको तथा प्राकृतिक स्रोत–साधनमा आधारित उद्योगसमेत अपेक्षाकृत रूपमा प्रतिस्पर्धी र सबल बन्न नसकेको उल्लेख गरे। यसले औद्योगिक उत्पादन र लगानीको वातावरणमा चुनौती सिर्जना गरेको उनको भनाइ थियो। उनले अहिलेको अवस्थामा जुन क्षेत्रले बढी प्रतिफल दिन सक्छ त्यही क्षेत्रमा लगानी प्रवाह बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै मुलुकलाई स्थिर, उत्पादनशील र उच्च प्रतिफल दिने लगानीयुक्त क्षेत्रको विकासतर्फ नीति केन्द्रित गर्नुपर्नेमा जोड दिए।
उनले मौद्रिक नीति निर्माणका क्रममा निजी क्षेत्र, वित्तीय संस्था, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवालाका सुझावलाई समेत समेटेर अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा नीति तर्जुमा गर्ने भन्दै सुझावहरू उपलब्ध गराइदिन आग्रह समेत गरेका छन्।

