
कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न



काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुऱ्याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरुसँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले केही बर्ष अघि “नेकोको अभियान – कृषिमा योगदान” कार्यक्रम अन्तर्गत अभियानको रुपमा कृषि तथा पशुपन्छी बीमा कार्यक्रम संचालन गरेको थियो ।
नेपाल कृषि प्रधान देश भएकोले कृषकहरुको कृषि तथा पशुपन्छी बीमा गर्ने सन्दर्भमा आइपरेका समस्याहरुको बारेमा कम्पनीका कर्मचारीहरुले राखेको भोगाईको बारेमा नेपाल बीमा प्राधिकरण र कृषि विभाग तथा पशुसेवा विभागका पदाधिकारीहरुले सो समस्या समाधानका उपायहरु प्रस्तुत गरेका थिए । कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
साे अबसरमा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ र नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीबाट राखिएका विभिन्न जिज्ञासाहरुको जवाफ दिएका थिए ।



