

एनआइसी एशियाका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा छुट




काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुन्छ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे ।
ग्राहक महानुभावहरुले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, हाल सेवा लिइरहनु भएका ग्राहकहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहक महानुभावहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ । सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।