
वाणिज्य बैंकहरुको गैर-बैंकिङ सम्पत्ति ४८ अर्ब ४७ करोड नाघ्यो, कुनकाे कति ?
काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकहरूमा परेको छ । फलस्वरूप वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिना (असोज मसान्त) सम्ममा ४८ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोजसम्ममा वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ बैंकसँग यस्तो सम्पत्ति रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर-बैंकिङ सम्पत्ति शून्य रहेको छ। १९ वाणिज्य बैंकमध्ये १४ बैंकको गैर-बैंकिङ सम्पत्ति बढेको छ भने ५ बैंकको घटेको छ।
चालु आवको असोज मसान्तसम्म सबैभन्दा बढी गैर-बैंकिङ सम्पत्ति हिमालयन बैंकको रहेको छ। बैंकको गैर-बैंकिङ सम्पत्ति गत वर्षको सोही अवधिको तुलनामा ७.४० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोजसम्म बैंकसँग ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थियो।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैर-बैंकिङ सम्पत्ति ५०.९४ प्रतिशतले बढेर ५ अर्ब ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने प्राइम कमर्सियल बैंकको ४ अर्ब २५ करोड ७६ लाख रुपैयाँबाट २९.११ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ। यता, नेपाल एसबिआई बैंकको ९५ करोड ४ लाख रुपैयाँबाट ४१.१५ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १६ लाख रुपैयाँ, नेपाल बैंकको २६ करोड ४२ लाख रुपैयाँबाट ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब २६ करोड २५ लाख रुपैयाँबाट ३६.२३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ र सानिमा बैंकको १ अर्ब ३ करोड ८८ लाख रुपैयाँबाट २६.७६ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ गैर-बैंकिङ सम्पत्ति पुगेको छ।
समीक्षा अवधिमा ५ वटा वाणिज्य बैंकको गैर-बैंकिङ सम्पत्ति घटेको छ। प्रतिशतका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको १५.८५ प्रतिशतले घटेर २ अर्ब १२ करोड १६ लाख रुपैयाँमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको थियो। यस्तै, रकमका आधारमा सबैभन्दा धेरै घट्ने ग्लोबल आइएमई बैंकको गैर-बैंकिङ सम्पत्ति ६ अर्ब ५ करोड ६० लाख रुपैयाँबाट ९.५८ प्रतिशतले घटेर ५ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ।
यसैगरी, एभरेष्ट बैंकको ५३ करोड ८५ लाख रुपैयाँबाट ७.९१ प्रतिशतले घटेर ४९ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँबाट ७.८९ प्रतिशतले घटेर ४ अर्ब १० करोड ८५ लाख रुपैयाँ र नबिल बैंकको ३ अर्ब ४५ करोड ७२ लाख रुपैयाँबाट ७.८६ प्रतिशतले घटेर ३ अर्ब १८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ।


