
आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना र असान्दर्भिक कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,२०८३’ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको अर्थमन्त्री वाग्लेको भनाइ छ । विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै उनले थप अध्ययनका लागि नयाँ आयोग गठन गर्नुभन्दा विगतमै प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न प्रक्रिया थालिएको बताए ।
अर्थमन्त्री वाग्लेले नियमन आवश्यक भए पनि अत्याधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्याउनसक्ने बताए । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उनले बताए । पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताए । पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’


