
महालक्ष्मी विकास बैंकद्वारा छात्रा मुस्कान खातुनलाई ५० हजारको छात्रवृत्ति
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर–१४ स्थित श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिने उक्त छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक अभावका कारण विद्यार्थीले अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।




