
साहस ऊर्जाले कमयो ५९ करोड ९१ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । साहस ऊर्जा लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको तुलनामा २१ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २१.०६ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासिकसम्ममा कम्पनीले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा बढ्नुमा विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्च अर्थात् ऋणको ब्याज खर्चमा आएको कमी मुख्य कारण रहेका छन् । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ४६ लाख ३६ हजार रुपैयाँ थियो । यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी करिब ३.१५ प्रतिशतले बढेको छ ।
कम्पनीको वित्तीय अवस्था पनि मजबुत देखिएको छ । असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा तथा सञ्चित मुनाफा कोषमा ४ अर्ब २८ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ। यससँगै कम्पनीको कुल शेयरधनी कोष ८ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति भने १८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ रहेको छ। नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १३.३६ गुणा कायम भएको छ ।
साहस ऊर्जाले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । नदीको बहावमा आधारित यस आयोजनामा वर्षायाममा पानीको बहाव बढ्ने भएकाले विद्युत् उत्पादन पनि बढी हुने गर्छ । यसले कम्पनीको विद्युत् बिक्री आम्दानीमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।


