
छठ मनाउन गाउँ गएको मौका छोपी पसलमा आगजनी, १० लाखभन्दा बढीको क्षति
सिराहा। सिराहाको मिर्चैया नगरपालिका–१ मा छठ पर्व मनाउन घरपरिवार गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरेपछि आगजनी गरेको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ।
मिर्चैया नगरपालिका–१ स्थित शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा घरमा रहेको किराना पसलमा अज्ञात समूहले चोरी गरी आगो लगाएर फरार भएको हो।
छठ पर्व मनाउन घरपरिवार गाउँ गएको अवस्थामा चोरहरूले घर तथा पसलमा प्रवेश गरी चोरी गरेपछि आगजनी गरेको बताइएको छ। आगलागीका कारण पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगो फैलिएपछि पसलमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी र आगजनीको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको हो ।


