
निफ्राको नाफामा २० प्रतिशतको गिरावट, इपीएस कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफामा २० प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपष्किृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २०.१६ प्रतिशतले घटेको हो ।
बैंकले असोज मसान्तसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढेकाले नाफामा दबाब असर परेको हो । यद्यपि बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि गरेको छ ।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी घट्नु र खर्च बढ्नुका कारण बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँमा झरेको छ । बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानी भने ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड २७ लाख ४० हजार रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ३ महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थियो ।
त्यस्तै बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमा रहँदा जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासिकमा ३ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ ।


