
कर्जा लिने प्रक्रिया र ऋणीका अधिकार-दायित्वबारे राष्ट्र बैंकको सन्देश जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कर्जा लिँदा अपनाउनुपर्ने चरणबद्ध प्रक्रिया, सिद्धान्त तथा ऋणीका अधिकार र दायित्वबारे एक आधिकारिक सन्देश सार्वजनिक गरेको छ। बचत अपर्याप्त हुँदा पुँजी निर्माण वा उप भोगका लागि लिइने कर्जा सेवालाई व्यवस्थित र पारदर्शी बनाउन केन्द्रीय बैंकले यससम्बन्धी प्रक्रिया प्रष्ट्याएको हो। राष्ट्र बैंकका अनुसार कर्जा भनेको आज पैसा सापटी लिने, चलाएको अवधिको ब्याज तिर्ने र अवधिअनुसार वा अन्त्यमा एकै पटक पैसा फिर्ता गर्ने वित्तीय सेवा हो। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा मुख्य रूपमा नगद प्रवाह (Cash Flow), स्वपुँजी (Capital), चरित्र तथा विगतको वित्तीय इतिहास (Character), धितो तथा सुरक्षण (Collateral) र सर्तहरू, अधिकार तथा कर्तव्य (Conditions) गरी ५ वटा आधारभूत सिद्धान्त वा 5C’s लाई अवलम्बन गर्ने गरेका छन्।
कर्जा प्राप्त गर्ने प्रक्रियाअन्तर्गत पहिलो चरणमा आवेदकले बैंक वा वित्तीय संस्थाले तोकेको ढाँचामा कर्जा आवेदन फाराम भरी नागरिकता वा प्यान कार्डजस्ता पहिचान खुल्ने कागजात, सम्पत्ति, दायित्व, आम्दानीको प्रमाण तथा प्रक्षेपण र धितो रहने सम्पत्तिको सम्पूर्ण कागजपत्र पेस गर्नुपर्छ। यसरी प्राप्त आवेदनका आधारमा बैंकले व्यक्ति वा व्यवसायको कर्जा तिर्न सक्ने क्षमता, स्वलगानी, साख र धितो सुरक्षणलगायतका पक्षहरूको विस्तृत मूल्याङ्कन गर्ने गर्छ। मूल्याङ्कन सन्तोषजनक पाइएमा बैंकबाट कर्जा स्वीकृत गरिन्छ र आवेदकलाई प्रदान गरिने स्वीकृति पत्रमा कुल ऋण रकम, ब्याजदरको संरचना र सावाँ-ब्याज तिर्ने अवधिको तालिकालगायतका सर्तहरू स्पष्ट रूपमा उल्लेख गरिएका हुन्छन्। धितो र ग्यारेन्टीसम्बन्धी सम्पूर्ण कानुनी कागजी प्रक्रियाहरू पूरा भएपछि बैंक तथा वित्तीय संस्थाले एकै पटक वा आवश्यकता अनुसार पटकपटक गरी कर्जा रकम ऋणीको बैंक खातामा जम्मा गरिदिन्छन्। कर्जा प्रवाहपश्चात् बैंकले यसको सदुपयोगिताको नियमित निगरानी गर्ने हुँदा ऋणीले पनि समयमै कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नुका साथै आफ्नो कारोबार र हिसाबकिताबको नियमित पालना गर्नुपर्ने हुन्छ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकको सन्देशमा ऋणीहरूले पर्याप्त सूचना प्राप्त गर्ने अधिकार, निष्पक्ष व्यवहार, गोपनीयताको हक, गुनासो तथा समस्या समाधानको सुविधासहित साना ग्राहकको विशेष संरक्षण पाउनुपर्ने विषयलाई अधिकारका रूपमा समेटिएको छ। बैंकलाई सही सूचना उपलब्ध गराउने, करारका सर्तहरू राम्ररी अध्ययन गर्ने, कर्जाको सदुपयोग गर्ने र वित्तीय अनुशासन पालना गर्ने दायित्व ऋणीको हुने स्पष्ट पारिएको छ। केन्द्रीय बैंकले “कर्जाको उद्देश्य, लागत, प्रतिफल र जोखिम विश्लेषण गरी कर्जा प्रयोग गरौं” भन्ने मूल सन्देशसहित सर्वसाधारणलाई वित्तीय रूपमा सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।



