
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले कात्तिक २० गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, बरुण हाइड्रोपावरले कात्तिक २० गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २३ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।


