
अत्यधिक सार्वजनिक बिदाले व्यापार व्यवसाय प्रभावित, दुईदिने बिदा घटाउन उद्योगीको माग
काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाका कारण व्यापार व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन्। उनीहरूले दुई दिने साप्ताहिक बिदासहित अन्य सार्वजनिक बिदा धेरै हुँदा उद्योग तथा व्यवसाय सञ्चालन प्रभावित भएको बताएका हुन्।
सोमबार बसेको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता समितिको बैठकमा उद्योगीहरूले सार्वजनिक बिदाका कारण बैंकिङ कारोबारसमेत प्रभावित हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन्।
उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले दुई दिने साप्ताहिक बिदाबाहेक थप ४० दिन सार्वजनिक बिदा हुँदा उद्योगी व्यवसायीलाई समस्या परेको बताए। बैंक तथा वित्तीय संस्था पनि सोहीअनुसार बन्द हुँदा व्यापार व्यवसाय सञ्चालनमा थप कठिनाइ भएको उनको भनाइ थियो।
उनले सार्वजनिक बिदा ४० दिनबाट घटाएर १५ दिनमा झार्ने भनिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए। गौतमले दुई दिने साप्ताहिक बिदा पनि घटाउनुपर्ने माग गरे।
बैठकमा उद्योगीहरूले बैंक तथा वित्तीय संस्थालाई श्रम ऐनअनुसार मात्रै बिदा दिने व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्। उनीहरूले बैंकिङ सेवा नियमित हुँदा उद्योग तथा व्यवसाय सञ्चालनमा सहज हुने बताएका छन्।


