
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नेभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कार विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा आईतबार आयोजित अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन ।
अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गर्ने, लोकतन्त्रलाई बलियो बनाउने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यम बनेको उनले बताए ।
उनले पत्रकारिताको वास्तविक शक्ति सत्य, विश्वसनीयता, निष्पक्षता र जनउत्तरदायित्वमा निहित रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, क्लिक र भ्युजका लागि हुने अस्वस्थ प्रतिस्पर्धा तथा पत्रकारको आर्थिक र व्यावसायिक असुरक्षाले पत्रकारिताको विश्वसनीयतामा चुनौती थपेको बताए ।
अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार सङ्कलन, विश्लेषण र सम्प्रेषणलाई सहज बनाउन सक्ने भए पनि यसले पत्रकारको विवेक, नैतिकता र मानवीय संवेदनशीलतालाई प्रतिस्थापन गर्न नसक्ने धारणा राखे। प्रविधिको प्रयोगसँगै तथ्य जाँच, डिजिटल साक्षरता र व्यावसायिक आचारसंहितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अग्रवालले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि सञ्चार क्षेत्र र निजी क्षेत्रबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताए ।
“जिम्मेवार पत्रकारिता र उत्तरदायी निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी होइनन्, सुशासन र समृद्धिका सहयात्री हुन्,” उनले भने । उनले उद्योग, व्यापार, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि तथा साना तथा मझौला उद्यमका समस्या, सम्भावना, नवप्रवर्तन र सफलताका कथालाई सञ्चारमाध्यमले तथ्यपरक रूपमा उजागर गर्नुपर्ने बताए। साथै निजी क्षेत्रका कमजोरी, अनियमितता तथा उपभोक्तासँग सम्बन्धित विषयमा पनि सञ्चारमाध्यमले निष्पक्ष निगरानी गर्नुपर्नेमा उनले जोड दिए।
पत्रकारको व्यावसायिक सुरक्षा र सम्मानजनक कार्य वातावरण आवश्यक रहेको बताउँदै अध्यक्ष अग्रवालले पत्रकारले डर, दबाब वा प्रलोभनबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने बताए। सञ्चार संस्थाहरूले पत्रकारलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा क्षमता विकासका अवसर उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
अग्रवालले व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, एआई तथा डेटा पत्रकारितासहित डिजिटल क्षमता अभिवृद्धि, अनलाइन सञ्चारमाध्यमको आर्थिक दिगोपन, पत्रकारको हकहित संरक्षण, समाधानमुखी पत्रकारिता तथा निजी क्षेत्रसँग सहकार्य विस्तार आजको आवश्यकता रहेको औल्याए । ‘समाचार छिटो मात्र होइन, सत्य हुनुपर्छ; विचार स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ र प्रविधि आधुनिक मात्र होइन, मानवता र नैतिकताप्रति संवेदनशील पनि हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने ।


