
काठमान्डु गोर्खाजको दोस्रो चरणको ट्यालेन्ट हन्ट सुरु
काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आइतबार ट्यालेन्ट हन्टको दोस्रो चरण सुरू गरेको छ । काठमाडौंस्थित टियु क्रिकेट मैदानमा ट्यालेन्ट हन्ट सुरु भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र गोर्खाजका प्रबन्ध निर्देशक अनुभव सिरोहियाले क्रिकेट खेलेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवम पूर्व राष्ट्रय खेलाडी मनिष राज पाण्डे, राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
गोर्खाजले पहिलो चरणमा काठमाडौं उपत्यकाका १५ एकेडेमीबाट ५६ खेलाडी छनोट गरेको निर्देशक शरद भेषावकरले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा सोमबारसम्म १२ खेलाडी छनोट हुनेछन् । त्यसपछि छनोट भएका खेलाडीले गोर्खाजको मुख्य टोलीसँग क्याम्पमा नियमित प्रशिक्षण गर्नेछन् । प्रतियोगिता सुरू हुनुअघि क्याम्पको प्रदर्शन अनुसार एक खेलाडी एनपिएल टोलीमा छनोट हुनेछन् ।
करण केसी मार्की खेलाडी रहेको टिममा भीम सार्की, सन्तोष यादव, राशिद खान, आदिल आलम लगायतका खेलाडी छन् । विदेशी खेलाडीमा अष्ट्रेलियन ओपनर डेविड वार्नर, श्रीलंकाली अलराउन्डर सहान अरच्चिगे र भारतीय विकेटकिपर केएस भरत पनि अनुबन्धित भइसकेका छन् ।


