
कृषि र साना उद्योगमा लगानी बढाउन बैंकहरूलाई गभर्नर पौडेलको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई कृषि, साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले ठूला व्यवसायमा मात्र केन्द्रित नभई तल्लो तहका उद्यमी, साना व्यवसायी तथा सर्वसाधारणसम्म वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल बैंकर्स संघको वार्षिक उत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले मौद्रिक नीतिअनुसारका वित्तीय उत्पादन ल्याएर उद्यमशीलता प्रवर्द्धनमा बैंकहरूले योगदान दिनुपर्ने बताए। अर्थतन्त्रको वास्तविक विकासका लागि कृषि तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
आफ्नो कार्यकालमा सरोकारवालासँगको संवाद र छलफलका आधारमा मौद्रिक नीति तर्जुमा गरिएको उल्लेख गर्दै उनले नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। शेयर बजार, विदेशी विनिमय, नीतिगत सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार गर्दै जाने पनि उनले जानकारी दिए।
गभर्नर पौडेलले मुलुकको विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको उल्लेख गर्दै आगामी वर्ष पनि आर्थिक तथा वित्तीय स्थिरता कायम राख्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए। साथै उनले संघका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्रालाई स्मरण गर्दै प्राप्त उपलब्धि व्यक्तिगत प्रयासको परिणाम नभई सहकर्मी, नियामक, ग्राहक, शेयरधनी र परिवारको सामूहिक योगदान भएको बताए।
उनले नेतृत्वको वास्तविक मूल्यांकन पद वा संस्थाबाट नभई एउटा पुस्ताले अर्को पुस्तालाई के हस्तान्तरण गर्छ भन्ने आधारमा हुनुपर्ने धारणा राखे। बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रिय कर्जा र सुस्त आर्थिक गतिविधिलाई सिक्ने तथा सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
नीतिगत तथा भूराजनीतिक अनिश्चितताका बीच पनि वृद्धि र विवेकशीलता, नवप्रवर्तन र सुशासनबीच सन्तुलन कायम गर्न सक्ने संस्था मात्रै दीर्घकालीन रूपमा सफल हुने उनले बताए। बैंकर्स, सञ्चालक, लगानीकर्ता तथा नीति निर्मातालाई संस्थाको दीर्घकालीन स्वास्थ्य र समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै उनले ठूला मात्र नभई गुणस्तरीय बैंक निर्माण गर्न र जनविश्वासमा सम्झौता नगर्न आह्वान गरे।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले अतिथिहरूलाई स्वागत गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरूप्रति आभार व्यक्त गरे। उनले संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र राज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा सदस्यहरूलाई बधाईसमेत दिए।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना–मझौला उद्योगमा लगानी विस्तार, वित्तीय स्थिरता कायम र डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सबै सरोकारवालासँग निरन्तर संवाद र सहकार्य गरिने उल्लेख गर्दै उनले संघका सदस्यहरूबाट प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।


