
दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला र स्नो रिभर्सले र प्रतिफल वितरण प्रयोजनार्थ सिटिजन्स म्युचुअल फण्डले भोली अर्थात असोज ८ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले यी दुई कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते, बिहीबार, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, स्नो रिभर्सले असोज २१ गते, बुधबार, लिसरा रिसेप्सन्स प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ८ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लोन अगेन्स्ट आईपीओ स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने, विभिन्न जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने निर्णय अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले भने गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

