
युनाइटेड इदी मर्दी हाइड्रोपावरले डाक्यो एजीएम, लाभांश पारित गर्ने
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका लागि १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ५.२६३२ प्रतिशत लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुने छ । सभामा सञ्चालक समितिले घोषणा गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । त्यसैगरी बोनस सेयर वितरणका कारण कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र बोनस सेयर जारी गर्न तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका निकायमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई प्रचलित कानुनअनुसार नामसारी भएका सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


