

दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्बमाथि,यस्तो छ व्यवसाय




काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनी आर्जन गरेको व्यावसायीक अवस्था सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुको व्यावसाय साढे ८० अर्बभन्दा माथि पुगेको छ । सो मध्ये १४ वटा ठूला जीवन बीमा कम्पनीहरुको व्यवसाय ६ महिनामा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ पुगेको तथ्यांकमा देखिएको हो ।
साथै, प्राधिकरणको तथ्यांकअनुसार ६ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने सो कम्पनीको व्यवसाय पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो । यता धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ भने सो कम्पनीले पुस महिनासम्मको अवधिमा ९ अर्ब ६० करोड बीमा शुल्क संकलन गरेको देखिन्छ।
समिक्षा अवधिमा एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँको व्यवसाय गरेको छ भने हिमाल लाइफ इन्स्योरेन्सले ८ अर्ब ३३ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको देखिएको हो । प्राधिकरणको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड बढीको बीमा शुल्क संकलन गरेको छ ।
सोही अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब २१ करोड र आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् भने पुस महिनासम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोडको व्यवसाय गर्न सफल भएको हो ।
समिक्षा अवधिमा सिटिजन्स लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ, सानिमा रिलायन्स इन्स्योरेन्सले ३ अर्ब २४ करोड र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।