
होर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच हुने भनिएको वार्ता स्थगित

काठमाडौं । ओमानले होर्मुज जलमार्गका सम्बन्धमा खाडी मुलुकहरू र इरानबीच हुने भनिएको क्षेत्रीय बैठक स्थगित गरिएको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका एक अधिकारीले ओमानमा तय भएको उक्त बैठक केही क्षेत्रीय देशहरूको अनुरोध तथा तेहरान र मस्कटको संयुक्त निर्णयमा स्थगित गरिएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरूले पनि केही अरब देशहरूको अनुरोधमा इरान र खाडी अरब देशहरूबीच ओमानमा हुने भनिएको वार्ता स्थगित गरिएको जनाएका छन् ।
हेर्मुज जलमार्गमा इरानी व्यावसायिक मालवाहक जहाजमाथि भएको आक्रमणमा एकजनाको मृत्यु भएको केही घण्टापछि बैठक स्थगित भएको खबर आएको हो ।
इरानको फार्स समाचार एजेन्सीले इरानी विदेश मन्त्रालयको खाडी मामिला कार्यालयका महानिर्देशकलाई उद्धृत गर्दै आइतबार लेखेको छ, “यो स्थगन यस क्षेत्रका केही देशहरूको अनुरोधमा गरिएको र यो इरान तथा ओमनको संयुक्त निर्णय थियो ।”
ओमानका विदेशमन्त्री बदर अलबुसैदीले एक्समा सोमबारका लागि तय भएको बैठक आमसहमतिको प्रयासका लागि स्थगित गरिएको बताएका छन् ।
“हामी हाम्रो अरब क्षेत्रमा स्थिरता र दीर्घकालीन सहकार्यलाई प्रवद्र्धन गर्ने संवादलाई अघि बढाउन प्रतिबद्ध छौँ,” अलबुसैदीले भनेका छन् ।
इरानसँग दशकौँ लामो विश्वासिलो मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमान यस युद्धमा पनि एक प्रमुख मध्यस्थकर्ताका रूपमा उभिएको छ । होर्मुज जलमार्गको आवागमनसम्बन्धी विवादबाट ओमान प्रत्यक्ष रूपमा प्रभावित छ, किनकि जलमार्गको दक्षिणी किनारा ओमानी भूभागमा पर्छ ।
गत जुलाईमा ओमनले जलमार्गको नियन्त्रण ५०–५० प्रतिशत बाँडफाँट गर्ने गरी संयुक्त क्षेत्रीय संयन्त्र निर्माणको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा जलमार्ग हुँदै जाने व्यापारिक जहाजबाट स्वेच्छिक शुल्क उठाउने र त्यसबाट प्राप्त रकम दुवै देशलाई उपलब्ध गराउने सुझाव समेत समावेश थियो ।
यो प्रणाली मलाक्का जलमार्गलाई व्यवस्थापन गर्ने सम्झौतासँग मिल्दोजुल्दो छ । उक्त व्यवस्थाअनुसार जलमार्ग पार गर्ने जहाजहरूलाई जलयातायात, वातावरण संरक्षण तथा खोज तथा उद्धार कार्यमा आर्थिक सहयोग पुर्याउन स्वेच्छिक योगदान गर्न आग्रह गरिन्छ ।
तर, इरानले स्वेच्छिक शुल्कको अवधारणालाई अस्वीकार गर्दै आएको छ । यसले यस रणनीतिक जलमार्ग हुँदै जाने जहाजका लागि भुक्तानी अनिवार्य हुनुपर्नेमा जोड दिएको छ ।

