
खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पु ष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा बाढी आएका बेला सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिन ढिलाइ गरेको आरोप लगाएका छन्।
पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम पुगेका प्रचण्डले बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताए।
उनले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको दाबी गरे। तर, सरकारले समयमै त्यसतर्फ पर्याप्त पहल गर्न नसकेको उनको आरोप थियो।
प्रचण्डले भोटेकोशी बाढीको घटनाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेका जोखिमलाई समेत उजागर गरेको बताए। जलवायु परिवर्तनको विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी ढङ्गले उठाउनुपर्नेमा उनले जोड दिए।
हिमाल तीव्र गतिमा पग्लिँदै जानु वातावरणीय विषय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको प्रचण्डको भनाइ थियो।
‘यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाएँ,’ उनले भने, ‘यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ।’
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको उल्लेख गर्दै प्रचण्डले यसको प्रभाव मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा समेत क्रमशः पर्दै गएको बताए।

