
बाढीको १४औँ दिनमा टनेलमा के भइरहेको छ ?
काठमाडौं । रसुवाको भेटेकोसी नदीमा बाढी आएको मंगलबार १४ दिन भएको छ । भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।
बाढी आएको १४औँ दिनसम्म पनि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सकिएको छैन । नेपाली सेनाको नेतृत्व तथा समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भारत, चीन, दक्षिण कोरिया, मेलेसिया, यूएईलगायत देशबाट आएका विज्ञ टोलीले विशेष गरी जलविद्युत् आयोजनाका टनेल (सुरुङ) मा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ ।
संयुक्त टोलीले रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारेको सेनाले जनाएको छ । लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य गरिरहेको भनाइ सेनाको छ ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठूला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ ।
“स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म हेभी उपकरण लैजानको लागि सडकमा रहेको ठूलो ढुंगालाई ब्लास्टिङ गरी हटाउने कार्य भएको र मेजर रकसम्म पुग्नको लागि ९५ मिटर बाँकी रहेको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विन्च मेसिन र बकेटबाट गेग्य्रान हटाउने कार्य भइरहेको छ । संयुक्त टोलीबाट टनेलको ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले जनाएको छ ।
“माथिल्लो त्रिशूली १ मा विदेशीसहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ,” नेपाली सेनाले भनेको छ ।
त्रिशूली ३ए को पावरहाउस तथा टनेलमा नेपाली सेना को ३४, सशस्त्र प्रहरी बलका ४ र आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।
“त्रिशूली ३बी मा नेपाली सेना को १०१ जना र आयोजनाको प्रतिनिधिहरूसहितको संयुक्त टोलीले स्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गर्दा आयोजनाको कार्यालय तथा आवासगृह इलाकामा फेला नपरेको । खोजी कार्य भइरहेको छ,” नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।


