

माघ १५ गतेदेखि क्रेस्ट माइक्रो लाइफले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ जारी गर्दै




काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्रीपछि बाँकी बसेको खण्डमा सो समेत समावेश गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था रहेको छ । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यलयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ ।