
विद्युत् बिक्री र सञ्चालन नाफा बढेपछि दिव्यश्वरी हाइड्रोपावर १ करोड ४५ लाख नाफामा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ।
अघिल्लो आर्थिक वर्षमा ६८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा रु. १ करोड ४५ लाख ५५ हजार खुद नाफा कमाएको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १६.११ प्रतिशतले बढेर रु. १० करोड ४४ लाख पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफा ३८.२६ प्रतिशतले बढेर रु. ५ करोड ५० लाख ६४ हजार पुगेको छ। वित्तीय खर्च अघिल्लो आर्थिक वर्षको रु. ४ करोड ६१ लाखबाट घटेर रु. ३ करोड ९९ लाखमा झरेकाले नाफा उकास्न मुख्य सहयोग पुर्याएको देखिन्छ।
कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ४० लाख रहेको छ। अघिल्लो वर्ष रु. २५ करोड ६४ लाख ३० हजार ऋणात्मक रहेको जगेडा तथा कोष ५.६८ प्रतिशतले सुधार भई रु. २४ करोड १८ लाख ७५ हजार ऋणात्मक स्थितिमा आएको छ।
नाफामा सुधार आएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक बनेको छ। अघिल्लो वर्ष रु. २.६० ऋणात्मक रहेको प्रतिसेयर आम्दानी बढेर रु. ५.५१ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ रु. ३.४० बाट सुध्रिएर रु. ८.३८ पुगेको छ भने मूल्य-आम्दानी अनुपात ४९ गुणा कायम भएको छ।

