
उर्जामन्त्री श्रेष्ठले भेटे जाइकाका अध्यक्ष

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका आकिहिकोबीच भेटवार्ता भएको छ ।
मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो ।
मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए । उनले जाइकाको सहयोगमा निर्माण भएको कनकाइ र चन्द्रनहर परियोजनाको पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गरेका थिए ।
मन्त्री श्रेष्ठले नागढुंगा सुरुङमार्ग निर्माणमा जाइकाले गरेको सहयोग र सहकार्यका लागि बधाई तथा धन्यवाद दिएका थिए । सुरुङमार्ग उद्घाटन जाइका अध्यक्ष आकिहिको नेपाल आएका हुन् । नेपाल आएका बेला उनले ऊर्जा मन्त्री श्रेष्ठसँग भेटी आपसी हित र सहकार्यका विषयमा छलफल गरेका छन् ।
छलफलमा मन्त्री श्रेष्ठले नेपालको क्लिन एण्ड ग्रीन इनर्जीलाई विश्वसामु प्रवर्द्धनका लागि मद्दत गर्न आग्रह गरे । उनले नदी जलाधार क्षेत्र गुरुयोजना निर्माण भइरहेको जानकारी गराएका थिए ।
भेटमा अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत परियोजनाको समस्या समाधान गरिदिन अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले तनहुँ हाइड्रोको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ऊर्जामन्त्री श्रेष्ठले बजेटमा यसपालि प्रसारणलाइन विस्तारलाई प्राथमिकतामा राखिएको र यसको लागि मास्टर प्लान बनिरहेको जानकारी गराए । उनले वितरण प्रणाली मजबुत बनाउन काम भइरहेको पनि बताए । वैकल्पिक ऊर्जा नै नेपालको समृद्धिको एउटा आधार भन्दै उनले प्राथमिकतामा राखी योजना बनाएको जानकारी गराए ।
मन्त्री श्रेष्ठले जुनसुकै जोखिममा धान्न सक्ने जापनिज उच्चतम प्रविधि प्रयोग गरिएको कुलेखानी जलविद्युत आयोजनाको पनि प्रशंसा गर्दै नलगाड जलविद्युत आयोजनामा पनि सहकार्य गर्न आह्वान गरे । ०७२ सालको भूकम्पमा जाइकाले सहयोग गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए ।
जाइका अध्यक्ष आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नयाँ परियोजनाहरुबारे चासो राखेका थिए । जाइका नेपालमा पूर्वाधार निर्माणको नवीन प्रविधि, अनुभव र लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

