
नेपाल लाइफको नाफा ४५ करोड, जीवन बीमा कोषको अकार साढे २ खर्ब माथि



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले कुल ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २७.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १२.९१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीले ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष १७.५९ प्रतिशतले बढेर २ खर्ब ६५ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँमा सीमित भएको छ । प्रति सेयर नेटवर्थ १२६.३३ रुपैयाँमा कायम रहँदा सोल्भेन्सी अनुपात १.५४ गुणा रहेको छ। चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७८ करोड ३३ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ सञ्चिति रहेको छ।


