
निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार संस्थाको नाफामा भारी गिरावट आउनुका साथै खराब कर्जा वृद्धि भएको छ।
गत आवको चैत मसान्तसम्म ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ६७.७४ प्रतिशतको भारी गिरावट सहित १५ करोड ५० लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
यद्यपि संस्थाको खुद ब्याज आम्दानी भने १ अर्ब १९ करोड ६९ लाख रुपैयाँबाट १६.५१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यसको बाबजूद कुल सञ्चालन आम्दानी २ अर्ब १० करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ६६ करोड ४० लाख रुपैयाँमा झरेको छ।
यता प्रतिशेयर आम्दानी २४.५३ रुपैयाँबाट घटेर ७.५४ रुपैयाँमा झरेको छ भने खराब कर्जा ९.०९ प्रतिशतबाट बढेर १३.९५ प्रतिशत पुगेको छ। संस्थाको प्रतिशेयर नेटवर्थ २१४.४३ रुपैयाँ र वितरणयोग्य मुनाफा १६ करोड ५५ लाख रुपैयाँ छ।


