
सेबोनको ५ प्रतिशत र १५ दिने निर्देशन संशोधनः १५% वा बढी बेच्दा ५ कारोबार दिनअघि सूचना दिनु पर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गरेको छ । बोर्डले निर्देशन संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा र समयावधि परिवर्तन गरेको हो ।
अब सम्बन्धित निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा ५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । साबिकको निर्देशनमा आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो ।
संशोधनसँगै सूचना दिनुपर्ने बिक्रीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ भने पूर्वसूचनाको अवधि १५ दिनबाट घटाएर पाँच कारोबार दिन कायम गरिएको छ । बोर्डले असोज २३ गते सम्पूर्ण सूचीकृत कम्पनीलाई पत्र पठाउँदै २०८३ भदौ ९ गते जारी निर्देशन परिमार्जन, संशोधन तथा थप गरेको जानकारी दिएको हो । संशोधित निर्देशनमा यसको दायरा पनि स्पष्ट गरिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लकइन अवधि समाप्त भएका कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनका बखत कायम रहेका आधारभूत सेयरधनीलाई यो व्यवस्था लागू हुने उल्लेख छ । साबिकको निर्देशनमा भने नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनी भन्ने व्यवस्था थियो; आईपीओका बखत कायम रहेका सेयरधनी र लकइन अवधि समाप्त भएको सर्त यसरी खुलाइएको थिएन ।
नयाँ व्यवस्थाअनुसार त्यस्ता आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा त्यससम्बन्धी सूचना पाँच कारोबार दिनअघि कम्पनीलाई दिनुपर्नेछ । यहाँ १५ प्रतिशत भन्नाले कम्पनीको कुल सेयरको नभई सम्बन्धित सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत भन्ने बुझिन्छ ।




