
सांग्रिला डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी नाफा भन्दा ३ गुणा बढी, ९ महिनामा कमायाे १ अर्ब ६१ करोड



काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा ११.५९ प्रतिशतले बढेकाे छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण साउनदेखि चैत मसान्तसम्मकाे अवधिमा बैंकले ४८ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो।
नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ। चालू आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ६१ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको १ अर्ब ४२ करोड ९१ लाख ३६ हजार रुपैयाँको तुलनामा १३.१८ प्रतिशतले बढी हो। यस्तै, बैंकको सञ्चालन मुनाफा ७१ करोड २१ लाख ८२ हजार रुपैयाँ रहेको छ।
यस्तै यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ७० लाख ३५ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ, जुन गत वर्ष १६ रुपैयाँ २८ पैसा थियो।
समिक्षा अवधिमा बैंकको खराब कर्जा भने केही बढेर ७.८७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४.९७ प्रतिशत थियो। बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी अनुपात २४.५६ गुणा र पूँजी पर्याप्तता अनुपात १४.२२ प्रतिशत रहेको छ।
बैंकले चैत मसान्तसम्म ५५ अर्ब ११ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।


